फिल्म । नेपाली फिल्म ‘माइतीघर’ को छायांकन आजदेखि म्याग्दी जिल्लाको रमणीय ताकम गाउँमा सुरु भएको छ । निर्माता रोहित अधिकारीले दिएको जानकारी अनुसार, स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजा सम्पन्न गरी फिल्मको औपचारिक छायांकन थालिएको हो । निर्माण पक्षका अनुसार, फिल्मको पहिलो चरणको छायांकन २० दिनसम्म ताकम र धारापानी गाउँमा चल्नेछ। त्यसपछि बाँकी २० दिनको छायांकन दरबाङको तातोपानी क्षेत्रमा गरिने योजना रहेको छ ।
शुभसाइत समारोहमा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले आफ्नो गाउँमा पहिलो पटक फिल्मको छायांकन हुन लागेकोमा खुसी व्यक्त गर्दै यो फिल्मले गाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले शुभसाइतमा नरिवल फोडेका थिए। उनले पनि फिल्मको उचित प्रचारप्रसार भएमा गाउँको विकासमा टेवा पुग्ने बताए ।
शुभसाइत समारोहअघि फिल्मको कलाकार तथा प्राविधिक टोलीलाई गाउँलेले परम्परागत बाजागाजासहित भव्य स्वागत गरेका थिए । ‘माइतीघर’ मा केदार घिमिरे ‘माग्ने बुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ र शिशिर वाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।
फिल्मले विशेषगरी तामाङ संस्कृतिको कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ । निर्माताले ४० दिनभित्र फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने तयारी गरेका छन् । यसअघि निर्माता अधिकारीले ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्महरू निर्माण गरिसकेका छन् ।












