फिल्म । नवीन चौहानको डेब्यु निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर मङ्गलवार सार्वजनिक गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा देखाइएको छ ।
वैशाख २६ गते विश्वव्यापी रूपमा रिलिज हुन लागेको फिल्मलाई गीतसङ्गीतमार्फत दर्शकको मन जितिसकेको आर्टमान्डूले निर्माण गरेको हो पूर्वी नेपालको पाँचथरमा छायाङ्कन गरिएको सामाजिक यथार्थवादी कथामा आधारित फिल्ममार्फत आफूले छुटै संसार बनाउने प्रयास गरेको निर्देशक चौहानले बताए । ‘यो मैले देखाउन खोजेको एउटा संसार हो । म जस्तै यसलाई मन पराउने धेरै हुनेछन् भन्नेमा विश्वस्त छु’, निर्देशक चौहानले भने ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, भावना खपाङ्गी मगर, सुरज तमु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।
कथा, अभिनय र समग्र निर्माण यात्राबारे अनुभव साझा गर्दै अभिनेता कार्कीले पाँचथरको सौन्दर्य र स्थानीय सहयोगको प्रशंसा गरे । अभिनेत्री मगरले ‘फुलु गुरुङ’ नामक आफ्नो पात्रबाट फिल्मले झैँ न्यानोपन दिने अपेक्षा राखेकी छन् । नवीन चौहानको लेखन तथा निर्देशन, सुजन चापागाईँ र झुमा लिम्बुको संगीत रहेको छ।











