अब जापानमा ‘छ माया छपक्कै’

फिल्म । नेपालमा रुचाइएको फिल्म ‘छ माया छपक्कै’ अब जापानमा प्रदर्शन हुने भएको छ । नेपालसँगै डायस्पोरामा पनि उत्तिकै माया पाएको फिल्म जापानमा भने आउँदो नयाँ वर्षको उपलक्ष्यमा प्रदर्शनमा आउने भएको छ । वितरण अधिकार खरिद गरेको सुर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले आउँदो नयाँ वर्षमा फिल्म प्रदर्शन गर्ने जानकारी दिए । केहि समय भित्र जापानको विभिन्न सहरहरु टोक्यो , नागोया , ओसाका लगायतमा प्रदर्शनको मिति सार्वजनिक गर्ने समेत बताए ।

‘केहि सहरमा प्रदर्शनको डेट तय गर्न बाँकि छ भने कहिँ अधिकारको कुरा पनि भइरहेको छ’ अध्यक्ष लामिछाने भन्छन् ,’हामीले एकैपटक सम्पूर्ण सहरमा फिल्म हेर्ने वातावरण मिलाउदै छौ ।’ गत नोभेम्बरमा मात्र सुर्य इन्टरनेशनल अवार्डको दोस्रो संस्करण सम्पन्न गरेको सुर्य कर्पोरेशनले यसअघि पनि म्युजिकल इभेन्ट तथा फिल्म प्रदर्शन गर्दै आइरहेको छ । गत वर्ष छक्का पञ्जा ३ को सफल प्रदर्शन गरेको सुर्य कर्पोरेशनले केहि सहरमा प्रदर्शन अधिकार प्रदान गर्न सकिने भन्दै नम्बरहरु 080 6867 2211 वा 080 7763 3321 मा सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ ।

आमा सरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्