फिल्म । आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ५८ सेकेण्ड लामो टिजरमा भावनात्मक गहिराइ र मौलिक नेपाली कथालाई झल्काएको छ । टिजरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमकथा हावी छ ।
इलामका हराभरा चिया बगान र गाउँले परिवेशमा धिरज मगरको अभिनयले दर्शकलाई तुरुन्तै बाँध्छ । ढोको बोकेर चिया पत्ती टिप्दै गरेकी मिरुना मगरको दृश्यले स्थानीय जीवनको सादगी उजागर गर्छ । टिजरमा धिरज र मिरुनाबीचको प्रेमको संकेत स्पष्ट छ, तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् भन्ने भावनात्मक द्वन्द्व पनि झल्किन्छ ।
यो त्रिकोणले फिल्मको कथालाई रोचक बनाउने अपेक्षा गरिएको छ । निर्देशक विल्सन विक्रम राई (तक्मे बुढा) प्रति धेरै दर्शकको अपेक्षा कमेडी शैलीको फिल्म नै हुन्थ्यो । तर, यो टिजरले उनको निर्देशनलाई पूर्ण रूपमा फरक दिशामा लैजाने संकेत गरेको छ । किराती संस्कृति र मौलिक प्रेमकथामा आधारित यो फिल्ममा भावनात्मक सम्बन्धहरूको गहिरो चित्रण छ, जसले नेपाली माटोको सच्चा स्वाद दिन्छ ।
तक्मेको यो परियोजनाले उनलाई निर्देशकको रूपमा नयाँ उचाइ दिने निश्चित छ, किनकि टिजरसम्म नै उनको कथा र दृष्टिकोण अब्बल देखिएको छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित ‘मैझारो’ निर्देशक राईकै कथा र पटकथामा बनेको हो । फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङ्देन र विशाल लिम्बु लगायतका कलाकारहरूको अभिनय समावेश छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बन्ने यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ । राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारी लगायतका कलाकारहरूको मीठो स्वरले सजिएको छ । सौरभ लामाको छायांकन रहेको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले हात पारेको छ । यो टिजरले दर्शकहरूबीच सकारात्मक प्रतिक्रिया बटुलेको छ । किराती समुदायको जीवनशैली र प्रेमको सादा तर गहिरो कथा बोकेको यो फिल्मले नयाँ आयाम दिन सक्ने विश्वास गरिएको छ।












