तीन चरणमा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

फिल्म । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । आज नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित महोत्सव तीन चरणमा हुने महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए ।

उनले तीन चरणमा हुने महोत्सव अन्तर्गत फागुन २४ गते सुर्खेतमा चलचित्र प्रदर्शनी, चैत १६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डको सभाहलमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ र चैत ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ हुने जानकारी दिए ।

चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि रहने महोत्सवको सद्भावना दूतका रूपमा अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्त नियुक्त भएको महोत्सव निर्देशक चन्दले जानकारी दिए । अभिनेता खड्काले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा वर्णन गरे ।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताईन् । आयोजित पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, अभिनेता शिव श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्