फिल्म । भारतीय फिल्म निर्देशक एस शङ्कर निर्देशित फिल्म ‘गेम चेन्जर’ को नेपाल प्रदर्शन तय भएको छ । भारतसँगै आगामी पुस २६ देखि यसको प्रदर्शन नेपालमा हुने तय भएसँगै हलले पोस्टर राखेका छन् । नेपालकै ठूलो चेन क्युएफएक्सले ‘गेम चेन्जर’ को पोस्टर राखेर सामाजिक सञ्जालमा राख्ने वितिकै दर्शकले आफू प्रतीक्षामा रहेको कमेन्ट गरेका छन् ।
आफ्ना ‘एडु टेनमेन्ट’ शैलीका फिल्मका लागि प्रसिद्ध निर्देशक शङ्कर निर्देशित भ्रष्टचार विरुद्धको बुलन्द आवाजमा आधारित कमल हसन अभिनित फिल्म ‘इन्डियन’, भ्रष्टचार राज्यनीति विरुद्ध तयार गरिएको अनिल कपुर अभिनित ‘नायक’, टेक्नोलोजीले पार्ने प्रभावमा तयार गरिएको रजनीकान्त अभिनित ‘रोबर्ट’ लगायतमा मनोरञ्जनसँगै शिक्षा पनि पाइन्छ ।
उनले ‘२.०’ मा बढ्दो मोबाइलको प्रयोग र त्यसले गर्दा निर्माण भएका टावरबाट निस्किने किरणले मानिस र पशुपक्षीमा परिरहेको असरबारे मुद्दा उठाएका थिए । उनै शङ्करको निर्देशनमा तयार भएको फिल्म ‘गेम चेन्जर’ मा राम चरण र कियारा आडवाणीको अभिनय रहेको छ ।
सन् २०२५ को बहुप्रतीक्षित फिल्ममध्ये हेरिएको फिल्ममा रामचरण बाबुछोराको दोहोरो भूमिकामा देखिनेछन् । रामचरण आईएएस अफिसरको रोलमा छन् । यसमा रामचरण धेरै भूमिकामा चित्रण छन् । भ्रष्ट मुख्यमन्त्रीविरुद्ध एक्सन लिएको दृश्यपछि कथावस्तु गहिराइमा अघि बढ्छ । फिल्ममा रामचरणको प्रेमिकाको भूमिका निर्वाह गरेकी बलिउड अभिनेत्री कियारा आडवाणीले आफ्नो सौन्दर्य र आकर्षणले दर्शकको हृदय स्पर्श गर्न सफल भएकी छन् ।
यो एक्सन थ्रिलरमा राम चरणसँगै अञ्जली, समुथिराकनी, सूर्या, श्रीकान्त, प्रकाश राज र सुनिलको मुख्य भूमिका छ । फिल्ममा थमन एसले संगीत दिएका छन् ।