फिल्म । नेपाली फिल्ममा अभिनेता, लेखक र निर्माताको रुपमा खगेन्द्र लामिछाने परिचित छन् । ‘पानीफोटो’ मार्फत निर्देशनमा डेब्यु गरेता पनि उनलाई लेखक र अभिनेताकै रुपमा बढीले चिन्ने गरेका छन् । ‘टल्क जंग भर्सेस टुल्के’ निर्माण गरेर अभिनयसमेत गरेपछि स्थापित भएका अभिनेता लामिछानेले नेपाली फिल्ममा ‘स्क्रिप्ट डक्टर’ को खाँचो रहेको बताए । उनले फिल्म ‘दिमाग खराब’ द्वारा आयोजित पत्रकार सम्मेलनमा यसलाई मजाकको रुपमा नलिन आग्रह समेत गरे ।
‘हाम्रो कथामा धेरै नै प्रश्न उठ्ने गरेको छ । म आफैँ स्थापित लेखक भएता पनि स्क्रिप्ट डाक्टरको खाँचो महसुश गरेर सुरुआत गरेको हुँ । यसले लेखकलाई कति धेरै फाईदा पुगेको छ भन्ने कुरा सायदै कसैले बुझ्नु भएको होला । त्यसैले यो सुरुआतलाई गम्भीरतापुर्वक लिन आग्रह गर्दछु’, लामिछानेले भने । उनले आफ्नो फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ मा स्क्रिप्ट डक्टरका कारण उल्झनहरू सुल्झिएको बताए ।
निर्देशक निश्चल बस्नेतले फिल्म हेरेर उब्जिने प्रश्नलाई लेखनकै क्रममा समाधान गर्ने प्रयास गरिएको बताए । ‘हामीले एकोहोरो रुपमा बुझिरहेको स्क्रिप्टमा भएका गल्तीलाई बुझाइ दिने र सुझाव दिने भएकाले स्क्रिप्ट डक्टर उपयोगी नै भयो । यसले लेखक र निर्देशलाई फिल्म निर्माणका क्रममा गल्ती नगर्न र सहित बाटोमा हिड्न प्रेरित गर्छ’, निर्देशक बस्नेतले भने ।
नेपाली फिल्मको कथ्य शैली, पात्रको स्वरूप, मेकिङ लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाएका निर्देशक बस्नेतले सामाजिक विषयवस्तुमा ‘दिमाग खराब’ तयार गरेको बताए । ‘अघिल्ला गल्ती नदोहोरियोस् भनेर पनि यसको स्क्रिप्ट सक्दो मेहनत गरेका छौँ’, निर्देशक बस्नेतले भने,‘मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहिँ प्रयास छ’, निर्देशक बस्नेतले भने । उनले फिल्ममा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाईएको बताए । फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।
कात्तिक २४ मा प्रदर्शन तय गरिएको फिल्ममा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् ।











