फिल्म । सन् २०० मा निर्माण भएको अब्बल फिल्म मध्येको एक हो ‘दर्पण छायाँ’ । मित्रता, प्रेम र बलिदानको कथामा बनेको तुलसी घिमिरेले निर्देशन गरेका फिल्ममा निरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको प्रमुख भूमिका थियो । नाम नै ब्रान्ड बनेको ‘दर्पण छायाँ’ को सिक्वेल समेत निर्माण भइसकेको छ । स्वयम् तुलसीले नै निर्देशन गरेको फिल्ममा पुष्प खड्का र सहारा कार्कीको मुख्य भूमिका थियो । तर, फिल्मले ‘दर्पण छायाँ’ को साख जोगाउन सकेन ।
अब यसको सिक्वेल पुनः बन्ने भएको छ । ‘दर्पण छायाँ’ मार्फत आफुलाई स्थापित गर्न सफल निरुता, दीलिप र उत्तमले मिलेर सिक्वेल बनाउँदैछन् । फिल्म जहाँ अन्त्य भएको थियो त्यहीबाट कथा अगाडि बढाउने गरी उत्तमले स्क्रिप्ट तयार पारिसकेका छन् । ‘ फिल्मको कथा राम्रो बनेको आभाष भएको छ ,’नीरुता भन्छिन् ‘तुलसी सरले पनि स्क्रिप्ट पढिसक्नुभएको र उहाँले दिएको प्रतिक्रियाले हामी फिल्म गर्न निकै उत्साहित छौं ।’ फिल्ममा नीरुता, उत्तम र दीलिप नै हुनेछन् भने यसको नाम ‘दर्पण छायाँ पछि’ रखिएको छ । फिल्मलाई तुलसी घिमिरेले नै निर्देशन गर्ने बुझिएको छ ।












