फिल्म । आज आर्मी अफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै ‘सिने सर्कल अवार्ड’ को सातौँ शृङ्खला सम्पन्न भएको छ । गत वर्ष विसं २०८० मा प्रदर्शन गरिएको चलचित्र मध्येबाट तेइस विधा उत्कृष्टलाई आज अवार्ड प्रदान गरिएको हो । आयोजित समारोहमा अभिनेतातर्फ ‘अगस्त्य’ चलचित्रबाट सौगात मल्ल, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का सोही चलचित्रबाट निर्देशक निश्चल बस्नेतले अवार्ड जिते ।
यस्तै, नव निर्देशकको अवार्ड उपेन्द्र सुब्बा (जारी), सम्पादक निमेष श्रेष्ठ (दिमाग खराब), छायाँकार सुशन प्रजापति (दिमाग खराब), पटकथा उपेन्द्र सुब्बा (जारी), खलपात्र प्रमोद अग्रहरी (अगस्त्य), पोस्टर डिजाइन राकेश दाहाल (बुलाकी), ट्रेलर बन्दे प्रसाद (काँडेतार), स्टन्ट लक्ष्मण सेन्चुरी (काँडेतार), गायक निशान भट्टराई (परदेशी २), गायिका अन्जु पन्त (बगान), भीएफएक्स अनुपम गौतम (उपहार), द्वन्द्व निर्देशन श्री श्रेष्ठ (अगस्त्य), नृत्य निर्देशन रामजी लामिछाने (नाङगो गाउँ), सङ्गीतकार सुवास भुसाल (बगान) ले अवार्ड जित्न सफल भए ।
अवार्ड समारोहमा ‘दीर्घसाधना सम्मान’ सम्पादक नरेन्द्र खड्का र शृङ्गार कलाकार (मेकअप आर्टिस्ट) अशोक रोक्कालाई जनही नगद एकाउन्न हजारसहित प्रदान गरियो । यस्तै, जोडी कलाकारको अवार्ड दयाहाङ राई र मिरुना मगर, ‘ट्रेन्ड सेटर’ निर्देशकको अवार्ड प्रदीप भट्टराई र रामबाबु गुरुङलाई प्रदान गरियो ।
समीक्षक तर्फको अवार्डतर्फ निर्देशक प्रदीप शाही (अन्तिम संस्कार), अभिनेता नरेन खड्का (बुलाकी), अभिनेत्री सुरक्षा पन्त (बुलाकी) प्राप्त गर्नुभयो । यस्तै, गतवर्ष सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड ‘जारी’ले प्राप्त गर्यो ।आयोजित अवार्ड समारोहमा गायक यम बराल, गायिका देवीका बन्दना लगायतले साङ्गीतिक प्रस्तुती दिनुभयो । अवार्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई प्रोत्साहन दिने उदेश्य अवार्ड गर्ने गरिएको बताए ।