फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनरत फिल्म ‘गौँथली’ ले देशभर आक्रामक व्यापार गरिरहेको छ । मनसुनी वर्षाको समेत पर्वाहनगरी दर्शक हलसम्म पुगेपछि फिल्मले दिन प्रतिदिन आफ्नो व्यापार बढाउन सफल भएको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन हुँदै फिल्म हेर्ने दर्शक बढिरहेका छन् । दर्शकबाट सकारात्मक प्रतिक्रिया फैलिएपछि यतिबेला फिल्म हेर्नेको भिडभाड हलमा देखिएको छ ।
फिल्मले गरिरहेको व्यावसायिक विवरण अनुसार यसले पहिलो साता नै ३ करोड बढी ग्रस कलेक्सन गर्ने देखिएको छ । निर्देशक कपिल रिजाल दर्शकले दिनुभएको मायाले फिल्मको व्यापार निरन्तर उकालो लागिरहेको बताउछन् । ‘हामीले अहिले दर्शक भेट्दै फिल्मको प्रतिक्रिया लिईरहेका छौँ, हामीले व्यवसायिक पक्ष भन्दा पनि फिल्मको प्रभावलाई ध्यान दिएका छौँ । यसले फरक क्षमता भएका व्यक्तिलाई समाजले गर्ने व्यवहार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने संदेश दिएको छ, यो महत्वपूर्ण हो’, उनले भने ।
फिल्मले देशभर राम्रो दर्शक पाएपछि अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मोफसल यात्रामा निस्किएका छन् । उनीहरूले पोखरा, चितवन, बुटवल लगायतका दर्शक भेट्ने कार्यक्रम रहेको छ । नेपालभरबाट फिल्मले राम्रो माया पाएको छ । प्रदर्शनको छैठौँ दिन पनि बिहानैदेखि देशभरका अधिकांश हलमा दर्शकको चाप बढेपछि विभिन्न मल्टिप्लेक्स तथा मोफसलका हलहरूले शो संख्या थपेका छन् ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकको बढ्दो मागका कारण हल सञ्चालकहरूले अतिरिक्त शो थपेका हुन् । उनका अनुसार फिल्मले यो साता भन्दा बढी आउँदो साता व्यापार गर्नेछ । दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वले आफूहरूलाई गहिरो रूपमा छोएको प्रतिक्रिया अधिकांश दर्शकले दिएका छन्।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।









