‘झिँगेदाउ’ को विदेश प्रदर्शन सुरु

फिल्म । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘झिँगेदाउ’ले विदेशमा पनि प्रदर्शन आरम्भ गरेको छ । नेपालमा ‘क्लिन हिट’ भएपछि यसको डिमाण्ड डायस्पोरामा बढ्दो छ । फिल्म नत कुनैको सिक्वेल हो , न यसमा ठुला स्टार छन् , निर्देशकले झन्डै ७ वर्ष पश्चात कमब्याक गरेका छन् । यसैले गर्दा यस फिल्मलाई ‘क्लिन हिट’ भनिएको हो । फ्यामिली अडियन्सहरुको बाक्लो उपस्थिति हलमा देखिएपछि यसलाई अहिले विदेशमा प्रदर्शन गर्ने होडबाजी नै चलेको छ ।

‘फिल्म अस्ट्रेलिया र अमेरिकामा बेचेका छौँ । डालसबाट यसले प्रदर्शन आरम्भ गरेको छ । नेपाल झैँ विदेश पनि फिल्मले दर्शकलाई निराश नबनाउने विश्वास छ’ निर्देशक ज्ञानेन्द्र देउजाले भने । उनी आफ्नो फिल्मलाई दर्शकले रुचाएकोमा उत्साहित छन् । ‘मैले यसलाई वर्षौदेखि साँचेर राखेको थिएँ । फिल्म दर्शकले रुचाउँडा खुसी लागेको छ’ उनले भने । अमेरिका र अष्ट्रेलियामा गरी कूल ४५ लाख रुपैयाँमा फिल्मको प्रदर्शन अधिकार विक्री भएको हो । प्रतिक सुवेदीले अमेरिका र हरी मल्लले अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका हुन् ।

बलियो ‘वर्ड अफ माउथ’ले फिल्मको दोस्रो हप्तामा पनि राम्रो व्यापार छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । एक परिवारभित्रको कथामा निर्माण भएको यस फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभय बराललगायतको अभिनय रहेको छ । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ लाई प्रदीप भारद्वाजले पटकथा मार्फत फिल्मको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्