फिल्म । केहि दिन अगाडी आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारले त्यस्तो किन गरे भन्ने विषयमा आवाज उठ्न थालेको छ । आत्महत्या नै भएपनि त्यहाँसम्म पुग्नु पर्ने कारणको प्रहरीले अनुसन्धान गर्नुपर्ने आवाज अभिनेत्रीद्वय सृष्टी श्रेष्ठ र मलिना जोशीले उठाईरहेका छन् । सारुकले अभिनय कक्षा लिदा कै ‘ब्याच मेट’ सृष्टी हुने भने उनको डेब्यु फिल्मकी को-स्टार हुन् मलिना ।
उनीहरु एकआपसमा मिल्ने साथी भएकाले पनि अकल्पनीय आत्महत्या हुनु पछाडीको रहस्य बाहिर आउनुपर्ने आवाज उठ्न थालेको हो । निकट सम्बन्ध रहेका अभिनेत्रीले सारुकको मृत्यु स्वभाविक नभएको भन्दै छानबिन गर्नुपर्ने माग उठाएका छन् । यसको सुरुवात गरेकी थिइन् अभिनेत्री सृष्टि श्रेष्ठले । उनले ‘ट्रुथ एन्ड जस्टिस प्रिभेल’ भन्दै सत्य र न्यायको जित हुने आसयको पोस्ट राखेकी थिइन् ।
सृष्टिभन्दा एक कदम अघि बढेर अभिनेत्री मलिना जोशीले भने लामो पोस्ट राख्दै विभिन्न प्रश्न उठाएकी छिन् । पोस्टमा उनले सारुकलाई यस्ता कदम लिन केले बाध्य बनायो ? अन्तिम समयमा उनी कोसँग थिए ? उनले किन नजिकको साथीभाइसँग सम्बन्ध तोडे ? उनी डिप्रेस थिए, उनलाई गलत व्यवहार गरिएको थियो कि ? दुव्र्यवहार गरिएको थियो कि ? आदि प्रश्न सोध्दै यी सबै कुराको जवाफ पाउनुपर्ने माग गरेकी छिन् ।
सारुकले आफ्नो अन्तिम दिनमा ‘ह्यासट्याग माया’ नामको फिल्ममा सुटिङ गरिरहेका थिए ।










