फिल्म । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को निर्माण टिम प्रचारप्रसारमा जुटेको छ। प्रदर्शनको एक साता बाँकी रहँदा कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले शुक्रबार काठमाडौंको बौद्धमा रथयात्रा गरेको हो।
रथयात्रामा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेल तथा निर्मातालगायतको सहभागिता थियो। कृष्ण जन्माष्टमीको अवसरमा आयोजित रथयात्रामार्फत फिल्मको प्रचारसमेत गरिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक पौडेलले फिल्मको प्रदर्शन नजिकिएसँगै प्रचारप्रसारलाई तीव्रता दिन थालेको बताए। उनले भने, ‘फिल्मको प्रदर्शन नजिकिँदै गर्दा अब प्रमोसनको कामलाई अगाडि बढाउन थालेका हौँ। फिल्म चल्ने दिन आइसक्यो, प्रमोसन पनि नगरी भएन। गर्नैपर्यो।’
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोका कारण स्तब्ध बनेको निर्माण टिम केही समयपछि फिल्मको प्रचारमा सक्रिय भएको हो। यसअघि फिल्मकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा बाढीपीडितलाई राहत सामग्री वितरण गरेकी थिइन्।
विनयराज पौडेल निर्देशित फिल्ममा न्यान्सी खड्काका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का र गीता अधिकारीलगायत कलाकारको अभिनय छ।
दिपेन बस्न्यातको छायांकन रहेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सोनी थापा हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्।










