फिल्म। नेपाल चलचित्र निर्माता सङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएपछि नेपाल चलचित्र सङ्घले विज्ञाप्ति जारी गर्दै खेद प्रकट गरेको छ । वुझाएको ज्ञापनपत्रका केही बुँदामा चलचित्र सङ्घको गम्भिर ध्यानाकर्षण भएको पूर्व अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनेका साथै अपराधीक कार्यमा संलग्न रहेको जस्तो गम्भिर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाइको छ । निर्माता सङ्घलाई एक साता भित्रमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्दै यसो नभएको खण्डमा निर्माता संघको बर्तमान कार्यसमिती रहदासम्म कुनै पनि सहकार्य, छलफल र वार्ता समेत नगर्ने निर्णय वैठकले गरेको छ ।’
निर्माता सङ्घले कपोलकल्पित ज्ञापन पत्र वाचन गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारी उपस्थित भएर पनि कुनै प्रतिक्रिया नदिएकोमा सङ्घ स्तब्ध भएको उल्लेख गर्दै आधिकारिक धारणा समेत माग गरेको छ । चलचित्र नीति, स्टुडियो, सेयर बाँडफाँट, प्रोजेक्ट बीमादेखि निर्मातालाई पाँच वर्षसम्म राहत दिनुपर्ने लगायत माग पेस गरिएको निर्माता सङ्घको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’हालै सम्पन्न चलचित्र निर्माताहरुको राष्ट्रिय भेलाले दिएका सुझावलाई समेटेर मागपत्र बुझाइएको हो । यसले कसैलाई आघात पुग्छ भन्ने मलाई लाग्दैन । हाम्रो आधिकारिक निर्णय वैठक बसेर नै सार्वजनिक गर्नेछौँ ।’
अध्यक्ष खड्काले नेपाली चलचित्रलाई प्राथमिकतामा राख्ने सवालमा कसैसँग सम्झौता नगर्नेसमेत बताउनुभयो। निर्माता सङ्घमा नयाँ कार्यसमिति आएदेखि नै चलचित्र सङ्घको गठित समितिसँग वार्ता भईरहेको छ ।










