‘गोर्खा वारियरलाई विशेष चलचित्रको सम्मान दिनुपर्छ’ : निर्देशक देउजा

फिल्म । फागुन ११ देखि नेपाली फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनरत छ । फिल्म हेर्ने अधिकाँसले यसको विषयवस्तु र मेकिङ्गको तारिफ गरिरहेका छन् । यसैक्रममा निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई राष्ट्रिय सम्मान दिनुपर्ने बताएका छन् । उनले फिल्म हेरेपछि गोर्खा वारियरमार्फत नेपाल र गोर्खालीको विषयलाई पर्दामा ल्याईएको भन्दै तारिफ गरेका छन् ।

‘यसमा हाम्रो गोर्खालीको वीरतासँगै नेपाली कला र संस्कृतिलाई समेटिएको छ । यो फिल्मका निर्देशक मिलन चाम्सलाई सम्मान गर्नुपर्छ र फिल्मलाई विशेष सम्मान दिनुपर्छ । यसलाई राष्ट्रिय सम्मान दिनुपर्छ’, निर्देशक देउजाले भने । उनले नेपाल सरकार र चलचित्र विकास बोर्डलाई ‘गोर्खा वारियर’ लाई विशेष सम्मान दिन आग्रह समेत गरे ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ देखि प्रदर्शन भईरहेको छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्