फिल्म । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को शुभमुहूर्त सम्पन्न गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा फिल्मको शुभमुहूर्त गर्दै सुटिङ थालिएको हो । नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा स्वयं ढुङ्गाना मुख्य भूमिकामा देखिनेछिन् । उनका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहनेछ । कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार हाल सम्पूर्ण कलाकार सुटिङ सेटमै व्यस्त छन् ।
फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बराल डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । म्युजिक भिडियोमार्फत चर्चित सरोजले यस फिल्मबाट क्रिएटिभ निर्देशकका रूपमा डेब्यू गर्न लागेका हुन् ।
फिल्ममा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् भने निर्माता हरिहर अधिकारी हुन् । यसअघि निर्माण टिमले निर्माताको नाम गोप्य राखेको थियो । सम्पादन साहिल खानले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेनले तयार पार्नेछन् ।
निर्माण टिमले फिल्मलाई आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरेको छ । सोही मितिलाई लक्षित गर्दै छायांकन कार्य तीव्र रूपमा अगाडि बढाइएको निर्देशक ढुङ्गानाले बताइन् । उनका अनुसार फिल्मको छायांकन तालिका करिब एक महिनाको हुनेछ ।











