फिल्म । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर रिलिज गरिएको हो ।
‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने फिल्मको मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन् । टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बाल्यकालदेखिको सम्बन्ध विवाहमा परिणत भएपछिको उतारचढावले दर्शकमाझ उत्सुकता जगाउन सफल देखिन्छ ।
फिल्ममा सौगात र बेनिशाका साथै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका छन् । यो फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।












