काठमाडौंमा दीपा नारायणको एकल गायन हुँदै

सङ्गीत । तीजको अवसरमा वरिष्ठ गायिका दीपा नारायण झाको एकल गायन कार्यक्रम आयोजना हुने भएको छ । ‘तीजको रहर आयो बरिलै…’ शीर्षकमा आयोजना हुने उक्त विशेष सांगीतिक कार्यक्रम आगामी भदौ २० गते काठमाडौंको बाँसबारीस्थित रमालय भेन्युमा हुनेछ ।

साधना कला केन्द्र र नेपाल सांगीतिक संघको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा दीपा नारायणले आफ्ना डेढ दर्जनभन्दा बढी चर्चित तथा कालजयी गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

दिउँसो ३ बजेदेखि अपराह्न ५ः३० बजेसम्म रमालय भेन्युको बगैँचा परिसरमा तीज उत्सव आयोजना गरिनेछ। दिउँसोको कार्यक्रममा दीपा नारायणलाई साजन लामा, सञ्जय तुम्रुक र रूपक चौधरीले विभिन्न गीतमा साथ दिनेछन् । अभिनेता तथा गायक प्रकाश सपुतले पनि आफ्ना चर्चित तीज गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा दीपा नारायणले ‘तीजको रहर आयो बरिलै’, ‘भुली गए सम्झनालाई’, ‘कुसुमे रुमाल’, ‘मायाको बारीमा प्रीतिको फूल’, ‘चाहन्छु म तिमीलाई नै’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘हिमाललाई साक्षी राखी आऊ मिठो बाचा गरौँ’, ‘सुन भन न जुन हेर न’, ‘बनमाराले बनै खायो’, ‘कालो चस्मा लाउ है माया विशाल बजारको’, ‘वर्ष तिमी छमछम गरी वर्षिदेऊ न’, ‘बनमा फुल्यो फूल’, ‘कसैलाई नसोधी तिमी मन पराएँ’, ‘घमाइलो रमाइलो कोसी तिरैमा’, ‘चरीको घर गुँडैमा भए’, ‘तिर्खा लागे निरमाया’, ‘झुटो हैन यो कुरा साँचो छ’ र ‘त्रिशूली बगेर मर्स्याङ्दी झरेछ’ लगायत चर्चित गीत प्रस्तुत गर्नेछिन्।

त्यस्तै, दीपा नारायणको विशेष सांगीतिक साँझ रमालय भेन्युको मुख्य हलमा बेलुका ६ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ । विशेष सांगीतिक साँझमा दीपा नारायणसँग पुरुष गायनतर्फ प्रदीपराज पाण्डे, प्रकाश सपुत, सञ्जय तुम्रुक र रूपक चौधरीले प्रस्तुति दिनेछन्।

कमेन्ट गर्नुहोस्