फिल्म । सामाजिक विषयमाथि सशक्त फिल्म तयार गर्ने निर्देशकको रुपमा परिचित भारतीय निर्देशक प्रकाश झाले हालै नेपाल घुमघाम गरेर फर्किए । निर्मातासँगै केही समय यता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले डकुमेन्ट्री मेकरको रुपमा सन् १९७५ मा सुरुवात गरेका थिए । बिहारमा हुर्किएका झा बलिउड आफ्नो प्रभाव छाड्न सफल निर्देशक बनिसकेका छन् ।
नेपाल भारतसँग जोडिएको बोर्डर नजिकै हुर्किएका झा दोस्रो पटक नेपाल आएका हुन् । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभलको तेस्रो संस्करणमा सहभागी हुन् पहिलोपटक काठमाडौं आएका निर्देशक झा दोस्रो पटक काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी हुन् आएका थिए । ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ फिल्म निर्देशन गरिसक्नु भएका झाले दर्शकले बुझ्ने भाषामा फिल्म बनाउनु पर्ने बताउछन् ।
‘व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउने कोसिश गर्नुस् । फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाइको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिको लागि फिल्म बनाउने गरेका छौ भन्ने सोच छ भने त्यो भ्रम हो’, निर्देशक झाले भने,’मैले दर्शकको लागि गंगाजल र राजनीति जस्तो फिल्म बनाएको छु । यस्तै, मेरो लागि परिक्षा र मट्टोकी साइकल जस्ता फिल्ममा जोडिने गरेको छु ।’
सुरुवातीसमयमै दामुल, परिणति, मत्युदण्ड जस्ता फिल्मले प्रशंसा बटुल्न सफल भएता पनि अर्को काम गर्ने आर्थिक लाभ दिन नसकेको उनको सम्झना छ । किनकि ती फिल्मले उहाँको कामलाई चिनाउन सकेता पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यहिँ समस्या अहिले पनि बलिउडमा देख्छन । यसको कारण कथावस्तुमा मेहनत नगरिनु हो । कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ति भइरहेको निर्देशक झाले बताए ।
‘पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समय अनुसार फिल्म प्लानिङ गरिरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ’, निर्देशक झाले भने । ‘आश्रम’ नामक वेबसिरिजमार्फत ओटीटीमा प्रवेश गरेका निर्देशक झाले सिनेमा हलकै लागि धर्मक्षेत्र र जनादेश नामक दुई फिल्ममा काम गरिरहेको जानकारी दिए ।
‘मेरो फिल्मले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडी ल्याओस् भनेर म बनाउदिन तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ’, निर्देशक झाले भने,‘कुनै फिल्ममा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबको खाडल हुनसक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्य भन्दा फरक हुन् सक्छन ।’
भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाई सक्नुभएका निर्देशक झाले सिस्टम विरुद्धको आक्रोश फिल्म मार्फत नै ल्याएको समेत घुमाउरो शैलीमा स्वीकारे । ‘मैले नेता बनेर भन्न चाहेका तथ्यलाइ फिल्म मार्फत भनेको हुन् सक्छु । किनकि फिल्मकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ’, उहाँले भन्नुभयो । नेपाली फिल्म निर्देशन गर्ने कुनै योजनामा झा छैनन् । तर नेपाली प्रोडक्सन हाउससँग सहकार्य गर्नसक्ने विषय भने नकारेनन् । किनकि राम्रो विषयवस्तुलाई आफ्नो इनपुट दिएर राम्रो बनाउन आफ्नो टिम सहित निर्देशक झा तयार छन् ।
‘मैले यहाँको कथा भन्न सक्दिन । किनकि मैले अहिलेसम्म आफ्नो ठाउँ बाहेक अन्यन्त्रको कथा भनेको छैन । तर, नेपाली फिल्मकर्मीसँग एसोसियट भएर काम गर्न सक्छु । मेरो फिल्म प्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्नसक्नु हुन्छ’, निर्देशक झाले भन्नुभयो,‘हाम्रै झैँ कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक झैँ कथावस्तुमा पनि मेहनत आवश्यक छ ।’