‘नेपाल मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

फिल्म । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औं संस्करण आयोजना हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ (१८–२१ डिसेम्बर ) सम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुने महोत्सवमा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारा दिईएको छ । महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ र समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ देखाइनेछ ।

विश्वभरीबाट खुल्ला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र महोत्सवमा देखाइने छ । महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ भने एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यको मास्टर क्लास, ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल हुनेछ । महोत्सवका निर्देशक पाण्डव खत्रीले चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुका टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्