फिल्म । नेपाली फिल्म ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो ।सार्वजनिक ट्रेलरले बुवा र छोरीबीचको भावनात्मक कथालाई केन्द्रमा राखेको छ । श्रीमतीविहीन घर, आमा नभएका सन्तान र श्रीमती बिना जीवन बिताइरहेका श्रीमान्को रित्तोपनलाई ट्रेलरमार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
फिल्ममा त्रिकोणात्मक प्रेम कथासँगै आमा नभएकी छोरीको हेरचाह गरिरहेका बुवा र छोरीबीचको आत्मीय सम्बन्ध देखाइएको छ । आमाले छोरीलाई छोडेर गएपछि उसले भोग्नुपरेको अभाव र त्यसले पार्ने भावनात्मक प्रभाव ट्रेलरमा प्रष्ट रूपमा उजागर गरिएको छ । यसले छोराछोरीका जीवनमा आमाको महत्व कति गहिरो हुन्छ भन्ने सन्देश दिन्छ ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत कलाकार देखिएका छन् । दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । आमाको अभाव महसुस गरिरहेकी छोरीलाई मातृत्व दिने दयाहाङको प्रयासले दर्शकलाई भावुक बनाउने संकेत ट्रेलरले दिएको छ ।
कथामा एकअर्कोलाई पाउने चाहना कसरी विस्तारै उजागर हुँदै जान्छ भन्ने देखाइएको छ । नुमा आफ्नी आमा होइन भन्ने थाहा पाएपछि निमाको प्रतिक्रिया, आमाको वास्तविकता पत्ता लगाउन गरेको संघर्ष र त्यसले निम्त्याउने भावनात्मक उतारचढाव ट्रेलरमा समेटिएका छन् ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सहनिर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेलले सम्हालेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।











