‘पाँच पाण्डव’ मा भित्रिए हरिवंश

फिल्म । निर्माणाधीन फिल्म ‘पाँच पाण्डव’को शुभमुहुर्त गरिएको छ । मङ्गलवार कमलादीस्थित गणेश मन्दिरमा यो फिल्म स्क्रीप्टको पूजा गर्दै कास्ट बारे जानकारी दिइयो । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) मुख्य भूमिकामा छन् । यी कलाकारहरू नै फिल्मका केन्द्रीय पात्र हुन् र ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन् ।

फिल्मको नामअनुसार धार्मिक नभई सोसल ड्रामा भएको निर्माण पक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मको महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् ।

फिल्मका अन्य केही कलाकारहरू फाइनल बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए । काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल फिल्म ‘प्रसाद’ शृंखलाका लेखक पनि हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।

हरिवंश आचार्यलगायत रुचाइएका तथा अग्रज कलाकार रहेकाले फिल्मको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रोमाइज नगर्ने प्रस्तुतकर्ता श्रेष्ठले बताए । यसअघि गत वर्ष नवीनले फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

कमेन्ट गर्नुहोस्