मिथिलाको सांस्कृतिक लोक नृत्य ‘झिझिया’ चलचित्रमा

फिल्म । आगामी शुक्रबार अर्थात् भदौ २९ गतेबाट प्रदर्शनमा हुने फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) को मैथिली भाषाको गीत ‘झिझिया’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा निर्मित गीत विशेष सुर र तालमा झुमी टाउकामा घैंटोराख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गरिन्छ । पाँचदेखि पन्ध्र महिला टाउकोमा घैटो राखेर नजिकको ब्रह्म्स्थानमा पुगेर पुजा गरेपछि यसलाई गाउँघरमा पुगेर संस्कृति प्रवर्द्धनका निमित प्रदर्शन गर्ने गर्छन् ।

विशेषत नकारात्मक शक्तिलाई कम्जोर बनाउन त्यस्ता गतिविधी गर्नेलाई गाली गरेर आफ्नो परिवार र समाजको सुरक्षाका लागि यो झिझिया गीत गाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ । सार्वजनिक गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै संगीत दिएका हुन् । यसको शब्द भने मिथिलामा प्रयोग गरिने वा गाईने परम्परागत झिझियाबाट लिईएको छ ।

जानकी मन्दिरको परिसरमा छायांकन गरिएको झिझिया नृत्यमा सुहाना थापा प्रस्तुत भएकी छिन् । उनले फिल्मी शैलीमा झिझिया प्रस्तुत गरेकी छिन् । ‘मैले अगाडी धेरै प्राक्टिस गर्न पाइन् । तर, त्यहिँ पुगेर नृत्य गर्दा पनि छुटै आनन्द महसुश भयो । मिथिलाको उक्त लोकनृत्यको बारेमा बुझेपछि झनै राम्रो महसुश गरें’, अभिनेत्री थापाले भनिन् ।

गीतमा अभिनेता विपिन कार्की र बालकलाकार जेभिन र जेभिस श्रेष्ठलाई समेत देखिएका छन् । अभिनेता कार्कीले आफू तराईमै हुर्किएकाले यो नृत्यको बारेमा जानकार रहेको र परम्परागत जनविश्वास बारे जनाकार रहेको बताए । झरना थापा निर्देशित फिल्ममा कबीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा कन्सेप्ट अभिनेत्री थापा र कथा निर्देशक थापाको रहेको छ । निर्देशक थापासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

कमेन्ट गर्नुहोस्