फिल्म । पछिल्लो समय फिल्म ‘सानो मन’ को चर्चा राम्रै छ । सर्वाजनिक ट्रेलरले फिल्मको थिमलाई केहि हदसम्म प्रस्ट्याएको छ । म्युजिकल लभ स्टोरी भनिएको फिल्मको झट्ट ट्रेलर हेर्दा बलिउडबाट प्रभावित भएको हो कि जस्तो पनि लाग्छ । तर फिल्म त्यसबाट प्रभावित नभएको निर्देसह्क सुयोग गुरुङ बताउछन् । ‘हामीले आफ्नै कथा लेखेपछि त्यो कहिँ कतै मिल्छ वा जस्तै देखिन्छ तर प्रस्तुतिकरण भने फरक हुनुपर्छ’ उनले भने । उनले माया प्रेमको कथामा खासै भिन्नता देख्दैनन् ।

‘माया गर्ने तरिकामा फरक हुदैन केवल त्यसलाई देखाउने तरिका फरक हो’ निर्देशक गुरुङ भन्छन् ‘हाम्रो प्रस्तुतीकरणलाई हेरेर जज गर्नुस नकि ट्रेलर ।’ उनले म्युजिकल स्टोरीमा आयुष्मान डिएस जोशी र शिल्पा मास्केलाइ नै पर्फेक्ट देखे । फिल्ममा शिल्पालाई गायिका बनाउन आयुष्मानले सपोर्ट गरेका छन् । यसमा साथीबीचको सम्बन्ध, आमा-बुबा र सन्तानबीचको सम्बन्धलाई पनि उठाएको निर्देशक गुरुङले बताए ।

फिल्मको मूल कथा सानिया (शिल्पा) को वरिपरि घुमेको छ । ‘लभ, रोमान्स, ब्रेकअप, सेक्स, रिभेञ्ज सबै कथामा फिल्म बनिसकेको छ । अब हामीले के बनाउने ?’ कहीँ कतैबाट प्रभावित भएर फिल्म नबनाए पनि कतै न कतै मिल्न जाने निर्देशक गुरुङको भनाई छ । उनी ‘सानो मन’ लाई म्यूजिकल जर्नी फिल्म भन्न चाहन्छन् ।

‘मलाई चार्मिङ र इनोसेन्ट लुक्स भएको कलाकार चाहिएको थिय’ उनले भने ‘त्यसैले मैले आयुष्मान र शिल्पा लिए ।’फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । आलोक शुक्लले छायांकन गरेको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो ।










