फिल्म । नेपालमा प्रदर्शनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको ‘मालती मङ्गले’ अब उत्तर अमेरिकामा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म आगामी मे १५ देखि अमेरिकामा दैनिक शोसहित प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायत सहरमा फिल्म प्रदर्शन हुने जनाइएको छ । अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन गरिने फिल्मको अग्रिम बुकिङ उत्साहजनक रहेको वितरण पक्षले जनाएको छ । फिल्मको क्यानडा प्रदर्शन अधिकार आँगन इभेन्ट्सले खरिद गरेको छ । निर्माण पक्षका अनुसार अन्य देशमा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भइरहेको छ भने त्यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।
नेपालमा प्रदर्शनको पहिलो सातादेखि नै फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण देशभरका हलहरूमा दर्शकको चाप बढिरहेको निर्माण टिमले जनाएको छ । फिल्म हेरेर बाहिरिएका धेरै दर्शकले यसलाई हास्य र भावनाको संयोजन भएको ‘नेपालीपन बोकेको उत्कृष्ट फिल्म’को रूपमा प्रतिक्रिया दिएका छन् । विशेषगरी वर्षा राउतको अभिनय तथा विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिको प्रशंसा भइरहेको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेयकै कथामा बनेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार गरेका हुन् । फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ ।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं रहेका छन् ।
फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।












