फिल्म । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले केही हलमा बक्सअफिस जोड्न बाँकी भएकाले रियल टाइम डाटा अझैँ दिन नसकिरहेको स्वीकारेका छन् । आज यहाँ जमलस्थित एक होटलमा चलचित्र भवन् सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घका ४९ औँ साधारणसभामा अध्यक्ष केसीले प्रदर्शकलाई आफ्नो दायित्व बुझ्न आग्रह गरे ।
‘सबै प्रदर्शकलाई भन्न खोजेको होइन तर केहीले अझै बक्सअफिस जडान गरेका छैनन् । हामीले कडाइ गरिरहेका छौँ । अहिले स–साना एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी आर्थिक वर्षमा हामीले उहाँहरूलाई महसुश हुने किसिमको सहयोग गर्नेछौँ’, अध्यक्ष केसीले भने । उक्त अवसरमा चलचित्रला विभिन्न एघार विधामा क्रियाशील चलचित्रकर्मीलाई सम्मान पनि गरिएको थियो ।
भुपेन्द्र बिष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट निर्देशक ज्ञानेन्द्र देउजा, द्वारिका प्रसाद उदय शिवशंकर मानन्धर स्मृति अभिनेता सम्मानबाट अभिनेता शिव श्रेष्ठ, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट अभिनेत्री गौरी मल्ल, भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति सङ्गीत सम्मानबाट गायिका देविका बन्दना, शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मानबाट पत्रकार विदुर गिरी, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर राणा स्मृति लेखन सम्मानबाट लेखक मौनता श्रेष्ठ, हरी प्रसाद द्वा भगवान दास स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझा, क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट सम्पादक नरेन्द्र खड्का, मैयादेवि प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, नन्द बहादुर महर्जन विरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट प्रदर्शक तीर्थ थापा, राजविर कायस्थ वैकुण्ठ मास्के स्मृति छायाँकार सम्मानबाट छायाँकार मञ्जुकुमार श्रेष्ठ सम्मानित भएका थिए ।
सम्मानितलाई पत्रसहित जनही नगद राशी पन्ध्र हजार पाँच सय ५५ बाट सम्मान गरिएको हो । चलचित्र सङ्घका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठले सरकारले करलगायतका विषयमा सहुलियत प्रदान गरेर प्रोत्साहन गर्न जरुरी रहेको बताए । यस साधारणसभामार्फत १७ सदसीय नयाँ कार्यसमिति समेत चयन हुने नेपाल चलचित्र सङ्घका निर्वाचन अधिकृत शान्तिप्रियले जानकारी दिए ।











