फिल्म । कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गर्दा फिल्म ‘बिहे पास’ छायांकनमा निस्किएको छ । पुर्व निर्धारीत सेड्युल अनुसार नै टिम छायांकनमा निस्किएको निर्माण पक्षले जनाएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म रम-कम जनरमा निर्माण हुनेछ ।
निर्देशक प्रवेश पौडेलको निर्देशनमा तयार हुने फिल्मको सुटिङ विराटनगर वरपरका ठाउँमा हुनेछ । डेब्यु फिल्म ‘उत्सव’ खेलेर अष्ट्रेलिया हान्निएकी प्रकृति श्रेष्ठले ६ वर्ष पछि नेपाली फिल्ममा अभिनय गर्न लागेकी हुन् । फिल्ममा उनले दयाहाङ राईको श्रीमतिको भूमिका निर्वाह गर्नेछिन् ।
प्रवेशले यसअघि ‘अमेरिकी ब्वाइज’को निर्देशन गरेका थिए । बीचमा भने उनले मनिष राउत, साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मालाई लिएर अर्को फिल्म बनाउने घोषणा गरेका थिए । तर, त्यो फिल्म यतावत छाड्दै प्रवेशले ‘बिहे पास’ सुटिङ गर्न लागेका हुन् । रोहित कट्टेलको प्रस्तुति रहेको ‘बिहे पास’मा कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।











