तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ सम्पन्न: गीतकार थापालाई दीर्घ साधना, पत्रकार गिरी र पोखरेल सम्मानित

सङ्गीत । कास्की खबर प्रालिको आयोजनामा तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ राजधानीमा सोमबार एक भव्य समारोहबीच सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा नेपाली गीत लेखन क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि अनवरत योगदान पुर्‍याएवापत वरिष्ठ गीतकार राजेन्द्र थापालाई २५ हजार रुपैयाँ नगदसहित ‘संगीत दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ ।

त्यसैगरी, कला पत्रकारितामा तीन दशकभन्दा लामो योगदान दिएका पत्रकार विदुर गिरीलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘रजत संगीत पत्रकारिता सम्मान’ र सञ्चारकर्मी सविता पोखरेललाई ११ हजार एक सय ११ रुपैयाँ नगदसहित ‘दशक पत्रकारिता सम्मान’ प्रदान गरियो। सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमकी प्रमुख अतिथि, नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गीतकार राजेन्द्र थापा, सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवम् लोक गायक बमबहादुर कार्कीलगायतले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए।

लोक, आधुनिक संगीत तथा भिडियोतर्फ विभिन्न २० विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको समारोहमा आधुनिक गीततर्फ ‘निर्लज’ बोलको गीतबाट शिव परियारले सर्वोत्कृष्ट गायकको अवार्ड चुमे। सोही गीतबाट राखी गौचनले शब्द र शंकर थापा ‘स्माइल’ले संगीतकारको अवार्ड प्राप्त गरे। ‘ओइ माया ओइ’ गीतबाट अनामिका चैलागाईंले सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्दा श्रीदेब भट्टराईले पुरुष मोडल र ‘चोटैचोटको जिन्दगी’ बाट रोशनी कार्कीले महिला मोडलको अवार्ड हात पारे।

शिव नृत्यबाट आरम्भ भएको कार्यक्रममा ‘केही गर्नु छ देशका लागि’ बाट श्रीकान्त राना क्षेत्रीले राष्ट्रिय भावको गीतमा अवार्ड पाए। लोक दोहोरीतर्फ ‘न काली न गोरी’ बाट बालचन्द्र बरालले गायक, ‘एकलाई शून्य दश’ बाट सुनिता बुढा क्षेत्रीले गायिका, ‘पिर परेर आको बेलामा’ बाट कृष्ण सुवेदीले शब्द सिर्जना, ‘कठोर मान्छे’ बाट प्रेम सापकोटा ‘सोनु’ले लय सिर्जना, ‘निरिमायाको’ बाट विमल अधिकारी र ‘चरी बासैमा’ बाट स्मारिका ढकालले मोडलको अवार्ड प्राप्त गरे।

यसैगरी, ‘रानी बनमा फुल’ बाट राजन सुवेदीले नव गायक, ‘माया साह्रै छ’ बाट वर्खा पौडेलले नव गायिका, ‘ए सैया’ बाट कृष्ण लामिछानेले संगीत संयोजन र ‘घुमौँ रामेछाप’ बाट राजाराम सिंखडाले कोरियोग्राफरको अवार्ड पाए। गायक सुशील ज्ञवाली, शंकर क्षेत्री, उत्तम भण्डारी, दीपक ओलि, दीपक कँडेल, याम प्रसाद निउरे, तुलसा क्षेत्री, सञ्जय देवकोटा, पेम्वा लामा शेर्पा, उमेश ठगुन्ना, जगत घर्ती मगर, सिर्जन पुन, सन्दीप सेन्चुरीलगायतले विभिन्न विधाबाट जुरी, पब्लिक च्वाइस र इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका छन्।

कार्यक्रममा पर्फमर दुर्गेश थापालाई वर्षभरि सबैभन्दा धेरै मेला महोत्सवमा प्रस्तुत भएको र युट्युबमा सर्वाधिक हेरिएको तथा सुनिएको आधारमा ‘गोल्डेन माइक अफ द इयर संगीत सम्मान’ प्रदान गरियो। त्यस्तै, अम्बिका गुरुङलाई ‘गोल्डेन पेन अफ द इयर संगीत सम्मान’, खेम सेन्चुरीलाई ‘म्युजिक अफ द इयर’, शितल कादम्बिनीलाई ‘साहित्य संगीत सम्मान’, कादम्बरी दाना श्रेष्ठलाई ‘गीतकार तथा सामाजिक व्यक्तित्व सम्मान’, निता आचार्यलाई ‘डायस्पोरा संगीत सम्मान’, च्याङ्वा लामालाई ‘फोटोग्राफर सम्मान’, लक्ष्मी नेपाली र सन्जु न्यौपानेलाई ‘युवा संगीत प्रतिभा सम्मान’ प्रदान गरिएको थियो। गायकहरु सविन चौहान, दुर्गा बिरही, रिजन पुलामी मगर, रामचन्द्र ढकाललगायतलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो।

समारोहमा प्रमुख अतिथि शाक्यले यस्ता कार्यक्रमले कला र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

कमेन्ट गर्नुहोस्