‘फर्की फर्की’ का डेब्यु ब्वाई रवि

फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ मार्फत पेशागत रुपमा इञ्जिनियर रहेका रवि काफ्लेले डेब्यु गर्दैछन् । उनले फिल्ममा ‘सुवास’ को भूमिकामा छन् । आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रवीले अडिसन दिएपछि ‘फर्की फर्की’का लागि छानिएका हुन् ।

‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं । त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थे । बाल्यकालदेखि नै फिल्मप्रति रुची थियो । कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरें’,रवी भन्छन्,‘विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ । जसले गर्दा फिल्ममा काम गर्न सजिलो भयो ।’

रवीका अनुसार फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । ‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु’, उनी भन्छन् ।

अनमोलसँग अभिनय गरिरहँदा उनी केही नर्भस पनि भएका रहेनछन् । ‘म नयाँ मान्छेसँग गफ गर्न, आइडिया शेयर गर्न रुचाउँछु । अनमोल उद्योगमा ठूलो नाम हो । ऊसँग स्क्रिन शेयर गर्न पाउँदा नर्भस थिएँ । किनकि स्थापित नामसँग एउटा सम्मान हुन्छ । उसमा अनुभव हुन्छ । केही कुरा सिक्न पाउछु भन्ने हुन्छ’, रवी भन्छन्, ‘फिल्मका चारै जना कलाकार सहयोगी भावना भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भयो । फिल्ममा अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गथ्र्यौ ।’ उनले अनमोल अभिनित फिल्म ‘कृ’, ‘जेरी’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ हेरेका रहेछन् ।

फिल्म रिलिज मिति नजिकिँदै गएपछि रवी उत्साहित र नर्भस छन् । उनको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो । मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रवीको भनाई छ ।

‘फिल्म हेर्न आउने दर्शकले मेरो क्यारेक्टर मात्र नभई हरेक क्यारेक्टर रिलेट गर्न सक्नुहुन्छ । किनकी उहाँहरुको जीवनमा साथी र परिवार हुन्छ । उहाँहरुसँग हाम्रो आ-आफ्नो सम्बन्ध हुन्छ । त्यो सम्बन्ध भित्रको उतारचढावहरु छन् । उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा फिल्ममा देखाइएको छ’, उनी भन्छन् ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् ।रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।

कमेन्ट गर्नुहोस्