यस वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘लालीबजार’

फिल्म । यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ १६ गतेसम्म फिल्म ‘लालीबजार’ले ७ करोड ९० लाख ३१ हजार ४ सय ७६ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्मले उक्त अवधिसम्म १ लाख ९६ हजार ४०६ टिकट बिक्री गरेको तथ्यांकमा उल्लेख छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको फिल्मले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेपछि निर्माण टिम उत्साहित बनेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए । उनले दर्शकबाट प्राप्त माया र समर्थनले आफ्नो मेहनतको प्रतिफल पाएको अनुभूति भएको बताए ।

उनका अनुसार फिल्मको विषयवस्तु, निर्देशन तथा कलाकारहरूको अभिनयको देशभरका दर्शकले प्रशंसा गरेका छन् । ‘लालीबजार’को विषयवस्तु, निर्देशन तथा कलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । फिल्म हेरेर बाहिरिने अधिकांश दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभूति भएको तथा फिल्मले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्