फिल्म । नेपाली फिल्म ‘हली’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ । नेपालसँगै माल्दिभ्सका फिल्म हलहरूमा पनि एकैदिन रिलिज भएको फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको निर्माण पक्षले जनाएको छ । निर्माण टिमका अनुसार शुक्रबार बिहानदेखि देशका अधिकांश हलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ भने धेरै शो हाउसफुल भएका छन्।
छाउपडी प्रथाजस्तो सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘हली’ विदेशका विभिन्न मुलुकमा पनि प्रदर्शन हुने तयारीमा छ। निर्माण पक्षका अनुसार फिल्म अगस्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा बेलायत (युके) र अक्टोबर ११ मा हङकङमा प्रदर्शन गरिनेछ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन् भने कार्यकारी निर्माता अर्जुन भुसाल रहेका छन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ। फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्।
फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा गीत समावेश गरिएको छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको फिल्मको वितरण नेशनल सिने ग्रुपले गरेको हो भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।










