फिल्म । गत वर्ष बलिउडले राम्रो कलाकारहरु गुमायो । जसमध्ये एक थिए इरफान खान । जीवन्त अभिनय गर्ने इरफानको मृत्युले कलाप्रेमीको मन दुखायो । उनको विदाइमा रंगमंचका कलाकारहरु बढी दुखि भए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा अभिनय गरेका इरफानको सम्झनामा हलिउड अभिनेत्री बर्स डलास हाउवर्डले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेकी छिन् ।
उनले इरफानसँग ‘जुरासिक वर्ल्ड’ मा काम गरेकी थिइन् । उनले फिल्मको एक दृश्यको तस्बिरलाई पोस्ट गर्दै आफुले इरफानलाई मिस गर्ने गरेको जनाएकी छिन् । फिल्ममा इरफान साइमन मसरानीको भूमिकामा थिए । उनि मसरानी कर्पोरेसनको सीईओ थिए ।
मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन गत अप्रिलमा भएको थियो । उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताइएको थियो । कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार, हिन्दी मिडियम लगायत फिल्ममा अभिनय गरेका छन् । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए । इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन् । उनका दुई भाइ छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् । (एजेन्सी)










