फिल्ममा तेज : मिस्टर नेपाल देखि प्रेमगन्जसम्म

फिल्म । यहिँ साता अर्थात् भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगन्ज’ मार्फत अभिनेतामा स्थापित हुने चाहना बोकेका कलाकार हुन् तेज गिरी । नेपाली फिल्म उद्योगमा नयाँ सुनिएता पनि उनी दशक यता नेपाली रंग क्षेत्रसँग जोडिएका छन् । सन् २०१२ मा मिस्टर नेपालमा टप फाइभमा आटाएपछि उनको सक्रियता रंग क्षेत्रका विभिन्न विधामा बढ्यो । त्यहिँ इभेन्टमा भेटिएका एक फिल्म निर्देशकको कारण उनले फिल्मसँग सम्बन्धित गतिविधिमा सक्रियता बढाए । पेशाले बैंकर भएकाले उनले फिल्मसँग जोडिएका गतिविधिलाई पनि सुस्तरुपमा अगाडी बढाए । उनको सक्रियता बढ्नुको कारण निर्देशक परिच्छेद सेन पनि हुन् । उनीसँग भेट भएपछि उनले गतिविधि बढाएका हुन् ।

त्यसो त तेजले मिस्टर नेपालको इभेन्टमा भेटिएका ती निर्देशकसँग एक फिल्म पनि गरेका थिए । तर छायांकन भएको त्यो फिल्म विविध कारणले रिलिज भएन । त्यसपछि उनी निर्देशक सेनसँग सम्पर्कमा आए । ‘हाम्रो भेटघाट एउटा फिल्ममा काम गर्ने योजना अनुसार भएको थियो । यद्दपि त्यो फिल्म बनेन तर निर्देशक सरसँग सम्बन्ध प्रगाढ भयो । त्यसैले गर्दा अहिलेसम्मको सहकार्य सम्भव भयो’ उनले भने ।

परिच्छेदसँग सहकार्य गर्ने भनिएको फिल्म नबनेता पनि ‘न दुखुन मनहरु’ नामक कार्यक्रम बनाउने योजना अनुसार तेजको सहकार्य भयो । ‘हामीले सामान्य व्यक्तिको पुरा गर्न सक्ने चाहनालाई बुझ्ने र पुरा गर्ने उदेश्य अनुसार कार्यक्रम सुरु गर्यौं । हामीले कसैलाई खाना खुवाएक छौँ , कसैलाई फिल्म देखाएका छौँ । यी यस्तै उनीहरुको पुरा गर्न सक्ने सपनालाई पुरा गर्ने गरेका थियौं’ तेजले भने ।

‘न दुखुन मनहरु’ मा तेज प्रस्तोता थिए । परिच्छेदले निर्देशकको दायित्व सम्हालेका थिए । फिल्मकै अभिनेता पवन भट्टराईलाई छायाँकारको जिम्मा दिइएको थियो । कार्यक्रम बनाउदै गर्दा उनीहरुले आम मानिशलाई नजिकबाट बुझ्न पाए । एक वृद्धलाई नाँग्लोमा केहि सामग्री राखेर व्यापारको माहोल बनाइदिए । एक यौनकर्ममा लागेकी युवतीलाई ठेला किनेर त्यहाँ व्यवसाय गर्ने वातावरण बनाइ दिए ।

‘अहिले पनि हामीले ठेलामा व्यवसाय सुरु गरिदिएको बहिनिले फोन गर्नु हुन्छ । आफ्नो पछिल्लो जीवन बाध्यताका साथ जीविकोपार्जन गरिरहनु भएकी ती बहिनि खुसी हुनुहुन्छ । त्यहिँ क्रममा हाम्रो भेट राजु फुयाँलसँग भयो’ उनले भने । नेपाली फिल्ममा स्पट ब्वाई , किचेन स्टाफका रुपमा लामो समय बिताएका राजुको चाहना एउटा फिल्ममा निर्माताको रुपमा आफ्नो नाम आओस भन्ने रहेछ । त्यो कुराको जानकारी तेज र परिच्छेदलाई एपिसोड बनाउदा थाहा भयो । ‘उहाँको कार्यक्रम बनाउने समयमा फिल्ममा निर्माताको रुपमा नाम आओस भन्ने सपना छ भन्नु भएपछि हामीले त्यसलाई पुरा गर्न फिल्म तर्फको तयारी थाल्यौं’ तेजले भने ।

राजुको सपनाले तेज र परिच्छेदको सहकार्य गर्ने योजनालाई मुर्तरुप दियो । राजुलाई निर्माता बनाउने सपनासँगै तेजको फिल्ममा अभिनय गर्ने र आफूलाई लागेको कथा दर्शकसम्म पुर्याउने सपना निर्देशक सेनको पुरा भयो । ‘हामी सहकार्यमा जुटेपछि विस्तारै कथा , कास्टिङ लगायतका काम अगाडी बढ्यो र अहिले फिल्म बनेर तपाइँहरु समक्ष आउँदै छ ‘ उनले भने । फिल्ममा उनी लिड रोलमा छन् । उनले युवा र वृद्ध अवस्थामा प्रेमलाई लिएर आउने परिवर्तनलाई प्रस्तुत गरेका छन् । एक युवाको जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने तथ्यलाई समेत फिल्मले दर्साउछ । ‘माया गर्नेहरुको ठाउँ हो प्रेम गन्ज । हामीले दुई कालखण्डको प्रेमलाई दर्साउने प्रयास गरेका छौँ । फिल्मले मायाको विभिन्न आयामलाई प्रस्तुत गर्नेछ’ उनले भने ।

मोडलिङ हुँदै फिल्ममा आइपुगेका तेजले आफ्नो को-स्टार र टिमको कारण काम गर्न सहजता महसुश गरे । ‘मैले सम्पूर्णबाट काममा सहयोग पाए । यसैले गर्दा निकै सहज भयो । किनकी मलाइ सम्पूर्ण टिमको उत्तिकै सहयोग थियो’ तेजले भने । डेढ दशक भन्दा बढी समय यता उनी मुक्तिनाथ विकाश बैंकको एक डिपार्टको हेडका रुपमा समेत कार्यरत छन् । आफ्नो प्यासन र प्रोफेसन लाईफ उनलाई म्यानेज गर्न सहज नै छ । ‘बैंकिङ दायित्व त छ नै तर सेड्युल अनुसार काम गर्ने भएकाले मैले समय सन्तुलन कायम गरिरहेको छु’ उनले भने । फिल्ममा बैंकरको समुहले लगानी समेत गरेको छ । तर नेपाली फिल्ममा त्यो सहभागिता निकै कम छ ।

प्रोजेक्ट लोन बैंकले दिदैन । यी सबबारे तेज जानकार नै छन् । उनले विस्तारै नेपाली फिल्मलाई लिएर जोखिम कम महसुश बैंकहरुले गरिरहेको बताए । ‘बैंकले कम जोखिमको क्षेत्रलाई प्राथमिकता दिन्छ । फिल्म सफलताको रेसियो हेर्ने हो भने बैंक टाढा नै बस्न खोज्छ । साथै , बैंकलाई पारदर्शिता पनि चाहिन्छ’ उनले भने । नेपाली फिल्म बनाउँदा हुने लगानीको श्रोत , बैंकिङ ट्रान्जेक्सन लगायत स्पष्ट हुँदै गएपछि बैंकहरु पनि फिल्म तर्फ आकर्षित हुने उनले बताए । उनले फिल्म उद्योगमा व्यासयिकता पनि कम पाएका छन् । ‘यहाँ व्यावसायिकता र व्यास्थापनाको पक्ष निकै कम छ । यी पक्ष सबल हुँदै गएमा अन्य क्षेत्रमा पनि आकर्षण बढ्ने छ’ तेजले भने ।

फिल्ममा तेजसँगै बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल, सिमरन खड्का , नरेश पौड्याल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई लगायतको अभिनय रहेको छ । यसले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्