फिल्म । गत माघ २३ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसनसम्बन्धी इभेन्ट आयोजना गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेन्मेन्टले आगामी मार्चको दोस्रो सातादेखि भारतका हलमा फिल्म प्रदर्शन गर्ने जिम्मा लिएको हो ।
कम्पनीले भारत रिलिजका लागि आफूहरू निर्माताको रूपमा जोडिएको जानकारी दिँदै ‘रमिताको पिरती’को कथा र प्रस्तुति भारतीय युवा दर्शकले पनि रुचाउने विश्वास व्यक्त गरेको छ । निर्माता सागर लम्साल र इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेन्मेन्टबीच हालै भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो ।
‘रमिताको पिरती’ले अहिलेका युवायुवतीको प्रेम, बिछोड र आत्ममन्थनलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले यथार्थपरक कथा वाचन र ‘आफूलाई आफैं माया गर्नुपर्छ’ भन्ने सन्देशका कारण युवा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
इन्फिनिटीले फिल्मले भारतीय युवा दर्शकको मनोविज्ञान पनि समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ । दक्षिण एसियाली कथालाई विश्वव्यापी दर्शकसम्म पुर्याउने लक्ष्यसहित स्थापना भएको कम्पनीले ‘रमिताको पिरती’को वितरणमा जोडिएको बताएको छ । यसले नेपाली फिल्मलाई सीमाभित्र मात्र नभई सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
हाल भारतका विभिन्न हलसँग रिलिजका लागि छलफल भइरहेको र छिट्टै कुन कुन स्थानमा कहिलेदेखि प्रदर्शन हुने भन्ने जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सुदिप्ताको निर्देशनमा बनेको फिल्म ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ । फिल्ममा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी लगायत कलाकारको अभिनय रहेको छ ।










