सङ्गीत । भारतीय गायक गायिकाले नेपाली गीतसङ्गीतमा स्थान बनाएता पनि नेपाली गायकगायिकाले भारतमा उक्त स्थान बनाउन सकेका छैनन् । यद्यपि पछिल्लो समय भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को १४ औँ सिजनमा प्रतिष्पर्धा गरिरहेकी मेनुका पौडेलले पार्श्व गायनको सुरुआत गरेकी छिन् ।
उनले भारतीय चलचित्र ‘सलार’ मा समावेश हिन्दी भाषाको गीतका लागि स्वर दिएकी हुन् । पाँच भाषामा तयार भएको चलचित्रको लागि हिन्दी भाषामा स्वर दिनु उनको लागि गौरवको विषय हो ।
सङ्गीतकार रवि बसरुरद्वारा सङ्गीतबद्ध ‘केजीएफ’ का दुई सिरिज नेपालमा लोकप्रिय मानिन्छ । अडिसनदेखि नै निर्णायक र शोमा आउने अतिथिलाई आफ्नो स्वरले मन्त्रमुग्ध बनाईरहेकी मेनुका अहिले उत्कृष्ट तेह्रमा छिन् ।
गायिका पौडेलले ‘नेपाल आइडल’ मार्फत आफ्नो गायन यात्राको सुरुआत गरेकी थिइन् । नेपालमा गायनमा सफलता प्राप्त गर्न असफल भएता पनि गायिका पौडेल अहिले भारत र विशेषत बलिउडमा आफ्नो प्रभाव बनाईरहेकी छिन् ।










