फिल्म । रणवीर सिंह अभिनित जासूस फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । हालको कमाइको गति कायम रहे फिल्मले नेपाल आगामी साता पनि राम्रै कमाइ गर्ने सङ्केत गरेको छ ।
‘सिनेपाः @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार अनुसार गएको माघ ३ गतेसम्म उक्त फिल्मले नेपालमा १० करोड ३७ लाख ४६ हजार ५०५ रुपैयाँ ग्रस कमाएको छ ।
बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मले राम्रो व्यापार गर्ने क्रमलाई निरन्तरता दिएको हो । सोही अवधिमा फिल्मको ३ लाख १५ हजार ३७१ वटा टिकट बिक्री भएका छन् । व्यापारिक सफलतासँगै ‘धुरन्धर’ ले भारतमा समेत नयाँ कीर्तिमान बनाएको छ । फिल्मले भारतमा ८ सय ८० करोड कमाइ गरिसकेको छ ।
फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ । फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई आदित्य धरले निर्देशन तथा निर्माण गरेका हुन् । एक्सन र ड्रामाले भरिएको कथावस्तु, लोकप्रिय कलाकारहरूको अभिनय र प्रचारप्रसारले फिल्मप्रति दर्शकको चासो बढाएको विश्लेषण गरिएको छ ।










