दयाको ‘पेन्सन पट्टा’ भदौंमा

फिल्म । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसरमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

वैशाख १ गते नयाँ वर्षसँगै अभिनेता दयाहाङ राईको जन्मदिन पनि परेकाले शुभ दिन पारेर प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङले बताए । ‘वितरक र निर्माण टिमसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौं । राम्रो मिति रोजेका छौं, व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं’, उनले भने ।

गुरुङ फिल्मका ‘गडफादर’का रूपमा परिचित गुरुङकै लगानी रहेको यस फिल्ममा दयाहाङ राईसँगै सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। विश्वास गुरुङ र माया गुरुङले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । नामका आधारमा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा प्रस्तुत गर्ने निर्देशक तथा निर्माता गुरुङले बताएका छन् ।

मीन कोन्मे गुरुङ (सिक्लेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहेको फिल्मका प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुन् । सुशन प्रजापतिले छायांकन गरिरहेको फिल्ममा कास्टिङ निर्देशक सुरज तमु रहेका छन् भने संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले तयार पारिरहेका छन् ।सुरेन्द्र पौडेलले सम्पादन गरिरहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । उक्त फिल्मलाई आरआर फिल्म्स मार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्