फिल्म । अभिनय दयाहाङ राई र जीतु नेपालको अभिनय रहेको नेपाली फिल्म ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित छ । यसको सार्वजनिक प्रचारप्रसार सामग्रीमा संकृतिको उठान, आम समुदायको जनजीवनलाई समेटिएको निर्देशक यश शेर्पाले बताए ।
उनले भने,‘हामीले देखाएको समुदायको संस्कृतिलाई दर्शकले मन पराइहरनु भएको छ । फिल्ममा कमै देखिएको देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ । आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’
निर्देशक शेर्पाको डेव्यु निर्देशन रहेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् । अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । यसको सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । ‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।