फिल्म । केही अगाडीसम्मको समय हेर्ने हो भने दर्शकले हिरो र भिलेनको रुपमा कलाकारहरूलाई बुझ्ने गर्थे । सकारात्मक भूमिका निर्वाह गरेवापत हिरो प्रिय बन्थे भने नकारात्मक भूमिकामा देखिने भिलेनलाई रुचाउने कमै हुन्थे । अहिले भने दर्शकको हेराई फेरिएको छ । हिरो र भिलेन भन्दा पनि चरित्र बुझ्न थालेका छन् । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न काम गरिरहेता पनि दर्शकले भिलेनमा रुचाए ।
‘अहिले दर्शकले चरित्र हेर्नुहुन्छ । नत्र हिरो जस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भन्नुभयो । ‘हसियाँ’ फिल्ममा निर्वाह गरेको भिलेनको भूमिकाले दर्शक माँझ प्रभाव छाड्न सफल भएको सम्झिदै उनले क्यारेक्टर महत्वपूर्ण रहेको बताए । मोडलिङ हुँदै अभिनेता बन्नुभएका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् ।
‘ऐश्वर्य’ मा निर्वाह गरेको भूमिका पश्चात उनलाई भिलेनमै धेरै निर्माता तथा निर्देशकले प्रस्तुत गरे । ‘भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन् । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्दपि ह्यान्डसम भिलेन भन्दा रमाइलो लाग्छ’, अभिनेता ताम्राकारले भने । काठमाडौंमा फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाईमा आएको परिवर्तन बारे बताए ।
‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका हेरेर काम गर्छु । म कलाकार हुँ ‘, अभिनेता अधिकारीले भने । दर्शकको हेराईमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला लगायतका कलाकारले अभिनय गरेका छन् ।
तस्वीर सौजन्य : सुरेन्द्र थापा / सुर सिनेमा











