‘परालको आगो’को सुखद सुरुआत

फिल्म । गत वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले सुरुआती दिनमै सुखद ओपनिङ गरेको छ । शुक्रबार प्रदर्शनको पहिलो दिनमै फिल्मले ३७ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । निर्माता सुशील पोखरेलले बिज मुभिजमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको ओपनिङ कलेक्सन करिब ३८ लाख नजिक पुगेको जानकारी दिए ।

उनले कलेक्सनसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै भने, ‘हिजो परालको आगोले एकै दिन ३७ लाखभन्दा माथि व्यापार गरेको छ । आज हिजोको भन्दा बढी दर्शकको चाप हलमा देखिएको छ, त्यसैले कलेक्सन पनि बढ्ने अपेक्षा गरेका छौं ।’

फिल्मको सुरुआती व्यापारप्रति आफू खुसी रहेको बताउँदै उनले दर्शकले फिल्म मन पराएर दोहोर्‍याएर हेर्ने विश्वास व्यक्त गरे। निर्माता पोखरेल फिल्मप्रति निकै आशावादी देखिएका छन्। फिल्मका निर्देशक लक्ष्मण सुनारले कथाअनुसार सक्दो मेहनत गरिएको बताए भने वितरक रोहित कट्टेलले दर्शकको उत्साह उल्लेखनीय रूपमा बढेको जानकारी दिए।

साहित्यकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतले अभिनय गरेका छन्। विशेषगरी बाल कलाकार मन्जिलाको अभिनय दर्शकले अत्यधिक रुचाएको बताइएको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। उनी कलाकारसँगै विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्। पटकथा तथा संवाद लेखक सुशील देवकोटा पनि हलमै पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन्। उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ। रंग संयोजन कनाल कँवरले गरेका छन्।

फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्। फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मेवारी करण बहादुर साउदले सम्हालेका छन्। आरआर फिल्म्सले नेपालभर वितरण गरेको यस फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ। यो फिल्म गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथाबाट प्रेरित हो । यसअघि पनि उक्त कथामा आधारित भएर प्रताप सुब्बाको निर्देशनमा फिल्म निर्माण भइसकेको थियो ।

कमेन्ट गर्नुहोस्