फिल्म । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ । निर्माण पक्षले फर्स्ट लुकसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गर्दै यसलाई यही वर्षको तिहारमा रिलिज गरिने जनाएको छ । सार्वजनिक फर्स्ट लुक भिडियोले फिल्मप्रति दर्शकको कौतूहलता बढाएको छ । भिडियोमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ ।
भिडियोको पृष्ठभूमिमा सुनिने ‘जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ’ भन्ने संवाद र त्यसपछि आउने ‘यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो’ भन्ने पुन्यको अभिव्यक्तिले उनी गाउँका चलाख र चतुर जनप्रतिनिधि भएको संकेत गर्छ ।
बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा देखिएका विजय बरालको पात्रलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । ‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेटअगाडि बसेर उनले पैसा लेनदेन गरिरहेको दृश्य देखाइएको छ भने पछाडिको भित्तामा टाँसिएको ‘भ्रष्टाचारलाई रोकौँ !’ भन्ने बोर्डले नेपाली राजनीतिको दोहोरो चरित्रमाथि व्यङ्ग्य गरिएको संकेत गर्छ ।
यसका साथै वडा अध्यक्ष पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको तथा गाउँलेहरूले पहाडी बाटोमा ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथालाई थप रहस्यमयी बनाएको छ । फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला घटनामा केन्द्रित रहेको छ । भिडियोमा गाउँलेहरूले बोकेको बाकसभित्र त्यही ‘डीप फ्रिज’ रहेको अनुमान गर्न सकिन्छ ।
यसअघि हिट फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण तथा निर्देशन गरेका सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्मको छायांकन कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका स्थानमा गरिएको हो । फिल्ममा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले छायांकन गरेका हुन् । फिल्ममा चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन तथा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डीसीएनले वितरण गर्ने फिल्मले तिहारको बिदामा दर्शकलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ ।












