‘च च हुई’ जोडी आर्यन र मिरुना (फोटो फिचर)

फिल्म । प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’ मार्फत आर्यन सिग्देलमा राम्रो प्रसंसा बटुलिरहेका छन् । फिल्ममा उनि दुइ गेटअपमा छन् । उनको आफ्नो उमेर समुह र बुढ्यौलीको दुइ अवतारमा प्रस्तुत छन् । विशेषगरि उनलाई प्रचारप्रसारको क्रममा बुढ्यौली अवतारमै प्रस्तुत गरिएको छ । यिनै आर्यनको आउँदो फिल्म ‘च च हुई’ मा चकलेटी अवतारमै देखिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्मको केहि तस्वीर सार्वजनिक भएको छ । जसमा आर्यनसंगै उनको को-स्टार मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् ।

फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक तस्वीरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो । मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । तस्वीर हेर्दा गीत प्रति कौतुहलता जाग्नु स्वाभाविक नै हो । निर्माण पक्ष यस गीतलाई केहि दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् ।

गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्