
फिल्म । आगामी श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ। यसबाट त्रिकोणात्मक कथा रहेको अनुमान लगाउन सकिन्छ। त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।
यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ । रोचक र रहस्यमय कथा बोल्ने यस पोस्टरमा फिल्मको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ ।
यस पोस्टरको डिजाइन कलात्मक पोस्टर डिजाइनरको रूपमा चिनिने रोयल भीमसेनले गरेका हुन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।
यसमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

यसका गीतहरूमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ । यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।