अमेरिकामा देखाइयो ‘मिस्टर नेपाली’

16 Shares

फिल्म । कार्तिक २९ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजना भएको फिल्मको प्रिमियर हेर्न पुगेका अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रायले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन् । फिल्मले दर्शकलाई हँसाउन पनि सफल भएकोमा निर्देशक देव भुषालले खुसी व्यक्त गरे । फिल्म हेर्ने दर्शक सन्तुष्ट देखिएको उनले बताए ।

राष्ट्रियताको कथा उठान गरेकाले विदेशमा बस्ने नेपालीका लागि यो फिल्म अझ सान्दर्भिक लाग्ने अमेरिकाबासी नेपालीको भनाई छ । मंगलबार अमेरिकाको १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा पनि फिल्मको प्रिमियर हुँदैछ । प्रेमराज दाहाल निर्मित फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको प्रमुख भूमिका छ ।

साहिल र कुसुमले यही फिल्मबाट डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । यो फिल्ममा अभिनेता भुवन केसीले पहिलो पटक दोहोरो भूमिका निभाएका छन् ।

कमेन्ट गर्नुहोस्