फिल्मलाई साहित्यसँग जोड्न कविता प्रतियोगिता – निर्देशक लामा

फिल्म । पछिल्लो समय मेकरले आफ्नो फिल्मको प्रचारप्रसार शैलीलाई फरक बनाउदै आइरहेका छन् । यो डिजिटल एजमा अरुलाई आफ्नो क्रियाकलापमा जोड्न सहज पकै छैन । यसैलाई मध्यनजरगर्दै फिल्म ‘गोपी’ युनिटले कविता प्रतियोगिताको आयोजना गरेको छ । स्वेदेशमै स्वरोजगारीको भाव बोकेको फिल्म ‘गोपी’ लाई निर्माण गरेको कम्पनि आरोही इन्टरटेनमेन्ट प्रालिले नगद पुरस्कारसहित घोषणा गरेको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै, सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतियोगीले आफ्नो कवितामा स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने भाव व्यक्त गर्नु पर्नेछ । सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेता घोषणा गर्दै पुरस्कृत गरिने जनाइएको छ । गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए ।

स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनको बुझाइ छ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

कविता प्रतियोगितामा सहभागी हुनेहरुका लागि निम्न शर्तहरु पालना गर्नु पर्नेछ ।

१. कविता नेपाली भाषामा हुनुपर्नेछ ।

२. नेपालमै बसेर श्रम गर्न कविताले प्रेरित गर्नुपर्नेछ ।

३. कविताको शीर्षक सहभागीले नै राख्नुपर्नेछ ।

४. कविता पद्यात्मक र गद्यात्मक दुवै स्विकार्य हुनेछ ।

५. कविताको लम्बाईमा कुनै हदबन्दी छैन ।

६. प्रतियोगितामा नेपाल र अरु देशबाट जुनसुकै उमेरकाले कविता पठाउन सक्नेछन् ।

७. कविता पठाउनेले आफ्नो नाम, ठेगाना, उमेर र सम्पर्क टेलिफोन नम्बर प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।

८. कविताहरुको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गर्नेछन् । कुनै विवाद आएमा आयोजकले समाधान गर्नेछ ।

९. कविता २०७५ पुस ११ देखि माघ ७ गतेसम्म पठाइसक्नु पर्नेछ । विजेताहरुलाई माघको दोस्रो हप्ता पुरस्कृत गरिनेछ ।

१०. सहभागीहरुले कविता nepalimoviegopi@gmail.com मा पठाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्