‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

सङ्गीत । विसं २०४० सालमा सार्वजनिक भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा रिलिज भएको छ । श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलवार इन्टरनेटमार्फत यो गीत सार्वजनिक गरिएको हो ।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन् । पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामांग वाईवाले युगल स्वर दिएका छन् । यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् । नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन् ।

भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन् । श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन् । संगम वि.सं. २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिईन् । उनले सो चलचित्रमा बालकलाकारको रूपमा काम गरेकी थिईन् । उनले बालकलाकारको रुपमा अपहरण, जय शिव शंकर, श्रीमान, वरदान लगायतका चलचित्रहरूमा काम गरेकी छन् । संगमले ‘नरोउ राधा सम्झेर मलाई’बाट नै कमर्सियल अभिनयमा प्रवेश गरेकी हुन् ।

हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए । “पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुन:स्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभुति लिनुहुनेछ भन्ने विश्वास लिएको छु”, राउतले भने । पछिल्लो समय उत्कृष्ट भिडियोबीना गीत अपुरो हुने भएको कारण यसको भिडियोलाई पनि निकै मेहनतले बनाएको उनले बताए ।

गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए । उनले भने, “हामीले सदिऔँदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौँ । त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुऱ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौँ ।” सापकोटाले यो भजन भर्सन सबैले सुन्दा आनन्द आउने बताए ।

कमेन्ट गर्नुहोस्