फिल्म । नेपाली फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । मुख्य पात्रको कथा समेटिएको टिजरले फिल्मको कथावस्तुको संकेत गरेको छ । सार्वजनिक टिजरमा आमाले छोरीको घर बसाउन गरेको प्रयास र विवाहपछि छोरीले भोग्नुपरेको व्यवहारलाई प्रस्तुत गरिएको छ । श्रीमान्को फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनुपरेको पीडा तथा छोरीको समुन्नत परिवार चाहने आमाको संघर्षलाई टिजरमा भावुक ढंगले देखाइएको छ ।
पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेको अवस्था, सोझो र इमान्दार ठानेको श्रीमान् नै खराब साबित भएपछि उत्पन्न परिस्थिति तथा जन्म दिने आमाको काख छोडेर कर्म दिने आमाको घर पुगेकी बुहारीले भोग्नुपरेका दुःखलाई टिजरले मार्मिक रूपमा चित्रण गरेको छ ।
टिजरले एउटा निर्णयले जीवनलाई कसरी तहसनहस बनाउन सक्छ भन्ने देखाउँदै दर्शकलाई भावुक बनाउँछ । छोरीका लागि आमाको काख कति न्यानो हुन्छ र बुहारीका लागि सासू कति कठोर हुन सक्छिन् भन्ने पक्षलाई पनि टिजरले उजागर गरेको छ । साथै, श्रीमान् अपेक्षाभन्दा विपरीत भइदिँदा श्रीमतीले भोग्नुपरेको पीडालाई कथासँगै सन्देशका रूपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा श्रीमान्को भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का छन् । अरुणको असामान्य व्यवहार र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको संघर्षपूर्ण कथाले दर्शकको ध्यान खिच्ने देखिन्छ ।
डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन् । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् । फिल्ममा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले दिएका छन् । हरि हुमागाईंले छायांकन गरेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा रहेका छन् । साथै, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म निर्माण गरेका थिए । उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ५१ दिन प्रदर्शन भएको उक्त फिल्मपछि अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म ‘गौँथली’ निर्देशन गरेका हुन् ।












