दोस्रो हप्तामा ‘बाः एक योद्धा’

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले विस्तारै गति समातेको छ । प्रदर्शनको पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माणपक्षले दाबी गरेको छ ।

सात दिनमा फिल्म ४० हजार ८२३ दर्शकले हेरेका छन्। प्रदर्शनको सुरुवाती दिनमा अपेक्षाकृत कम देखिएको दर्शकको चाप पछिल्ला दिनमा बढ्दै गएपछि फिल्म दोस्रो हप्तामा प्रवेश गरेको हो।

फिल्मका मुख्य कलाकार दिव्यदेवले ‘बाः एक योद्धा’को व्यापारलाई विद्युतीय गाडीसँग तुलना गरेका छन्। उनले पेट्रोल वा डिजेलबाट चल्ने गाडीझैँ एकैपटक गति लिनुभन्दा फिल्मले विस्तारै गति समातेको बताएका छन्।

दर्शकको माया बढ्दै जाँदा शोहरू भरिन थालेको र त्यसको प्रभाव बक्सअफिसमा पनि देखिन थालेको निर्माणपक्षको भनाइ छ। फिल्मको ग्रस कलेक्सन दैनिक रूपमा बढ्दै गएको निर्देशक हरि लम्सालले बताए।

‘हरेक दिन फिल्मको व्यापार बढिरहेको छ। फिल्म हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई फिल्म हेर्न पठाउने बताइरहनुभएको छ,’ निर्देशक लम्सालले भने, ‘यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ।’

वर्ड अफ माउथ राम्रो पाएका कारण फिल्ममा हरेक दिन दर्शकको चाप बढ्दै गएको लम्सालले बताए। ‘हाम्रो जस्तो फिल्म दोस्रो हप्तामा चलेको विगत छ। यसले हाम्रो फिल्मले पनि दोस्रो हप्ताबाट धेरै दर्शकको साथ पाउने देखिएको छ,’ उनले भने।

फिल्मको शो संख्या पनि हलहरूले विस्तारै बढाइरहेका छन्। वितरकका अनुसार देशभर फिल्मले एक सयभन्दा बढी शो पाएको छ। दर्शकको माग बढ्दै गएपछि विभिन्न हलले थप शोसमेत थपिरहेका छन्।

‘बाः एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

कमेन्ट गर्नुहोस्