सौन्दर्य । सौन्दर्य प्रतियोगिता ‘मिस मिथिलानारी नेपाल २०२६’ आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेस मिट गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ‘द ब्युटी अफ मिथिला’ नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने आयोजकले जनाएको छ ।
प्रेस मिटमा आयोजक संस्थाका प्रमुख हरिश जायसवालले प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे जानकारी दिएका थिए । जायसवालका अनुसार ‘मिस मिथिलानारी नेपाल’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिला क्षेत्रका महिलालाई सशक्त बनाउने, मिथिला संस्कृतिको पहिचान स्थापित गर्ने तथा महिलालाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
उनले मिथिलासँग सम्बन्धित यस्ता प्रकृतिका प्रतियोगिता यसअघि नभएको उल्लेख गर्दै यसले मिथिला समुदायका महिलालाई अवसर र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि अडिसन फर्म खुला गरिएको आयोजकले जनाएको छ । इच्छुक सहभागीले ईसेवा एपमार्फत फर्म भर्न सक्नेछन् । अडिसन यही जेठ १६ गते जनकपुरमा आयोजना गरिनेछ भने त्यसपछि काठमाडौंमा पनि अडिसन हुने बताइएको छ ।
डिजिटल माध्यमबाट फर्म भर्न नसक्ने सहभागीले अडिसन स्थलमै पुगेर सोही दिन फर्म भर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा मिथिला समुदायका महिलामात्र नभई सम्पूर्ण नेपाली महिलाले सहभागिता जनाउन सक्नेछन् । मिथिला भाषाको सामान्य ज्ञान भएका सहभागीलाई पनि आवेदन दिन आह्वान गरिएको छ ।












