फिल्म । छायांकनरत फिल्म ‘हर्ष’को छायांकन सकिएको छ । डेब्यु निर्देशक एकता पौडेलले सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । खगेन्द्र लामिछाने र वर्षा राउतको अभिनय रहेको फिल्मको सम्पूर्ण छायांकन चितवन तथा आसपासका छेत्रमा गरिएको छ । फिल्ममा पाँच गीत रहेको र ती सम्पूर्णको छायांकन सकिएको निर्देशक पौडेलले जानकारी दिईन् ।
‘हामी ४० दिनको सेड्युल लिएर निस्किएका थियौँ, तर सम्पूर्ण टीमको मेहनतले पाँच दिन अगाडि नै गीतसहित छायांकन सक्न सफल भयौँ । यसको पोस्ट प्रोडक्सनको काम सकिएपछि प्रदर्शन पनि घोषणा गर्ने छौँ’, उनले भनिन् । फिल्ममा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् ।
पारिवारिक सामाजिक कथा पस्किने फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । यसमा आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ ।
ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।












